भौतिक संरचनाको व्यवस्था गरिदिन केन्द्रलाई गण्डकी सरकारको अनुरोध

247
0
Share:

गण्डकी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक संरचनाको व्यवस्था गरिदिन केन्द्रीय सरकारसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद्ले अहिले प्रदेश सरकारले प्रयोग गरिरहेका संरचना र अन्य आवश्यक संरचना प्रदेश सरकारको मातहत ल्याउन केन्द्रसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सीप विकास तालिम केन्द्रको भवनमा बसेको छ । गण्डकी प्रदेशका कुनैपनि मन्त्रालयको आफ्नै भवन छैन ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रादेशिक संरचना व्यवस्थापनका लागि प्रदेश सरकारकै नाममा भौतिक संरचना र जग्गा आवश्यक रहेको बताए । अहिले प्रदेशले प्रयोग गरिरहेका संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न पनि अनुरोध गरिएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले पोखरा महानगरपालिकाले राष्ट्रिय झण्डाको छाया फेवातालमा देखिने गरी बनाउन लागेको संरचनामा वित्तीय साझेदारी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, आजको मन्त्रिपरिषद्ले प्रदेशको नीति तथा योजना आयोगमा जलस्रोत विज्ञको रुपमा विष्णुराज बराललाई नियुक्त गरेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षलाई संरचना र कानून निर्माणको वर्षको रुपमा लिएको छ । गण्डकी सरकारले तीन हजार २०० कर्मचारी आवश्यक भएको भन्दै दरबन्दी र कर्मचारी माग गरेर केन्द्रीय सरकारलाई निवेदन यसअघि नै पठाइसकेको छ ।

युवराज श्रेष्ठ, पोखरा

 

Share:

Leave a reply